काठमाडौँ। कोरोना महामारी सामान्य भएसँगै अहिले नेपाली चलचित्रको प्रदर्शन मिती घोषणा गर्ने र नयाँ चलचित्र बनाउने काम तीव्र रुपमा भइरहेको छ। सोहिक्रममा चलचित्र ‘आँधी तुफान-२’ को छायांकन पनि धमाधम भइरहेको छ। हालै चलचित्रको दुई वटा गीतको छायांकन गोवामा सकेर सुटिङ युनिट नेपाल आएको छ। मौनता श्रेष्ठले निर्माण गरिरहेको चलचित्रमा कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी आदि कलाकारहरुको अभिनय रहेको छ। थ्रीलर र सस्पेन्स विधामा आधारित चलचित्रको कथा निर्माता मौनता श्रेष्ठले लेखेका हुन्। चलचित्रको निर्देशक मदन घिमिरे रहेका छन् भने चलचित्रमा रामशरण उप्रेतीको छायाँकन,प्रेम चुल्ठेको एक्सन , दिनेश सुवेदीका गीत,रानी शाक्यको स्वर र कमल राईको नृत्य रहनेछ। चलचित्र डेढ दशक अघि आएको चलचित्र 'आँधी तुफान'को सिक्वल हो।