चिमखोलामा प्रहरी पोष्ट स्थापना

म्याग्दी- भौगोलिकरूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ। रघुगङ्गा –७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो।  प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शनिबार पोष्टको शुभारम्भ उद्घाटन गरे।

पाँच प्रहरी रहने गरी स्थापना गरिएको चौकीलाई स्थायी रुपान्तरण र चौकीमा स्नरोन्नति गरिने प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। शान्ति सुरक्षाका लागि स्थानीयवासी र गाउँपालिकाबाट भएको मागअनुसार प्रहरी पोष्ट स्थापना गरिएको हो। गाउँपालिकाका अनुसार १४ हजार जनसङ्ख्या भएको रघुगङ्गाको एकतिहाइ जनसङ्ख्या यी दुई वडामा छ।

“गत वर्ष अजिङ्गर भिरमा सडक खुलेसँगै अपराधजन्य गतिविधि, जलविद्युत् आयोजना निर्माण हुन थालेपछि बाह्य मजदुरको चहलपहल र आर्थिक गतिविधिसँगै सुरक्षा चुनौती बढेको थियो”, प्रनाउ राईले भने, “पोष्ट स्थापनापछि बिपद् व्यवस्थापनका साथै धवलागिरि सेञ्चुरी र आइसफल पदमार्गको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

प्रहरी पोष्ट स्थापनाका लागि ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक तुदी पावर कम्पनीले तीनकोठे भवन उपलब्ध गराएको छ। कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले प्रहरी पोष्ट स्थापनाका लागि तत्कालका लागि भवन र पक्की भवन बनाउन तीन रोपनी जग्गा उपलब्ध गराएको बताए। यसअघि चिमखोला र कुइनेमङ्गलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नुपर्दथ्यो।

भौगोलिक विकटता, यातायातको असुविधाका कारण पाखापानीबाट चिमखोला र कुइनेमङ्गलेमा सुरक्षाकर्मी पुग्न पूरै दिन लाग्ने समस्या थियो। आवश्यकता र मागअनुसार सुरक्षा व्यवस्थाका लागि चिमखोलामा प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताए। जिल्ला न्यायाधीश तेजनारायण पौडेलले लगानीसँगै स्वभाविकरूपमा विकास भित्र्ने भएकाले प्रवद्र्धकहरुले क्षति न्यूनीकरण र स्थानीयवासीको आवश्यकता सम्बोधन तथा स्थानीयवासीले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाको निर्णय र मागअनुसार तिप्ल्याङ र चिमखोलामा प्रहरी पोष्ट स्थापना भएको तथा मौवाफाँटमा प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भएको बताए। चिमखोलाका वडाध्यक्ष देउप्रसाद पुन र सदस्य बुद्धीमाया पहरे पुनले जलविद्युत् आयोजना भित्रिएसँगै थपिएको सुरक्षा चुनौती व्यवस्थापनका लागि प्रहरी चौकी आवश्यकता परेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×