काठमाडौँ - गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ।
दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति पुर्याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिए। उनका अनुसार विद्युत् पोल र लाइनमा क्षति पुगेकाले मर्मत कार्य जटिल हुँदा तीन दिनदेखि गाउँमा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानी पिसानी गर्न र विद्यार्थीलाई नजिकिँदै गरेको एसइईलगायत विद्यालय तहका परीक्षाको तयारी गर्न समस्या उत्पन्न भएको छ।
यसैगरी बेनी–२ बगरफाँटमा बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ। मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढीले मुहान र पाइपलाइन बगाएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो। गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए। सो स्थानमा २१४ घरधुरी छ।
विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो। रु. ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो।