काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विश्वमा विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहार कायमै रहेको देखिएकाले असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताए।
स्पेनको म्याड्रिडमा असंलग्न मुलुकको सङ्गठन (नाम) को बैठकलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्दै कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षणका लागि पनि विश्वमा असंलग्न आन्दोलनको आवश्यकता रहेको बताए। “विश्वका विकासशील देश निरन्तररुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट वञ्चित छन्”, उनले भने, “ती चुनौती रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहनुपर्छ।” सकारात्मक नतिजाका लागि हाम्रो संसद्ले त्यसतर्फको राष्ट्रिय प्रयासलाई सहयोग र प्रोत्साहन जारी राख्ने उल्लेख गर्दै सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदानप्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे।
“नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो। शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्त, नेपालका अमरपुत्र बुद्धको शिक्षामा आधारित छन्”, उनले भने, “नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो।” जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसद्बाट आशा गरेको स्पष्ट पार्दै सभामुख सापकोटाले नेपालको संसद् समझदारी तथा सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न प्रतिबद्ध छ भने। आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका सङ्घ आइपियुको १४३औँ सभालाई सम्बोधन गर्दै उनले शासनको सबैभन्दा मनपर्ने स्वरूपका रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित भने नरहेको बताए।
आइपियु सम्मेलनमा सहभागी हुन यही मङ्सिर ८ गते स्पेन प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ।