२१ फागुनको चुनावका लागि १७ अर्ब बजेट, ७ अर्ब म्यादी प्रहरीमा

२१ फागुन २०८२ मा प्रस्तावित ‘अर्ली इलेक्सन’का लागि सरकारले १७ अर्बभन्दा बढी बजेटको सुनिश्चितता गरेको छ । निर्वाचनको तयारी, शान्ति सुरक्षा तथा अन्य व्यवस्थापन खर्चका लागि अर्थ मन्त्रालयले हालसम्म कुल १७ अर्ब ११ करोड रुपैयाँ खर्च गर्न सहमति दिएको हो ।

निर्वाचनका लागि गृह मन्त्रालयले मात्रै १० अर्ब ३९ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ । यस्तै, निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रुपैयाँ खर्च सुनिश्चित गरिएको अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

गृह मन्त्रालयअन्तर्गत तीनवटै सुरक्षा निकाय तथा निर्वाचन अवधिका लागि भर्ना गरिने म्यादी प्रहरीको व्यवस्थापनका लागि उक्त बजेट निकासा गरिएको हो । कुल रकममध्ये सबैभन्दा ठूलो हिस्सा म्यादी प्रहरीका लागि छुट्याइएको छ ।

गृह मन्त्रालयका अनुसार म्यादी प्रहरी परिचालनका लागि ६९.७८ प्रतिशत अर्थात् ७ अर्ब २५ करोड रुपैयाँ खर्च हुने छ । त्यस्तै, नेपाल प्रहरीका लागि १ अर्ब ५० करोड, सशस्त्र प्रहरीका लागि ६५ करोड तथा निर्वाचन सशस्त्र प्रहरीतर्फ ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसका साथै राष्ट्रिय अनुसन्धान विभागका लागि ५ करोड ५० लाख र गृह मन्त्रालयका अन्य प्रशासनिक खर्चका लागि १३ करोड ५० लाख रुपैयाँ सुनिश्चित गरिएको छ ।

यसअघि नै अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ निकासा गरिसकेको छ । यससँगै प्रस्तावित २१ फागुनको निर्वाचनका लागि कुल १७ अर्ब ११ करोड रुपैयाँ खर्च सुनिश्चित भइसकेको मन्त्रालयले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×