सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान

काठमाडौँ - नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले बताएका छन्। लामिछानेलाई केन्द्रीय कारगार चलान गरिने उनले बताए।

कात्तिक १४ गते लामिछानेलाई १० देखि १२ वर्ष कैद सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित मुद्दा दर्ता भएको थियो। भदौ ५ गते राति नाबालिकालाई लामिछानेले एक होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप छ। लामिछानेले दुई पटक जबर्जस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

लामिछानेले भने प्रहरी र अदालतमा आफूले ती बालिकालाई बलात्कार नगरेको दाबी गरेका छन्। बालिकाकै करबलमा घुम्न गएर होटलमा बसे पनि जबर्जस्ती करणी नगरेको उनले बयानमा खुलाएका छन्। पीडितले भने ‘मेन्टल रिफ्रेसमेन्ट’ हुने, आफू अब दुई-तीन महीनापछि मात्रै नेपाल फर्कने भन्दै घुमघाम गर्न हत्ते हालेको जाहेरीमा बताएकी छिन्।

लामिछानेको तर्फबाट बहस गरेका वकिलले पीडित नाबालिग नभएको भन्दै जन्मदर्ता सच्याएको इजलासमा जिकिर गरेका थिए। अब लामिछानेले जेलमै बसेर कानूनी प्रतिरक्षा गर्नुपर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×