लोकस्टारको होस्ट गर्दै प्रकाश सपुत

काठमाडौँ - गायक प्रकाश सपुतले टेलिभिजन रियलिटी शो सञ्चालन गर्ने भएका छन्। हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको ‘हिमालय लोकस्टार सिजन २’बाट उनी सञ्चालकको रुपमा देखा पर्नेछन्।

हिमालय टेलिभिजनले निर्माण तथा प्रसारण गर्ने लोकस्टार नेपालको मौलिक रियालिटी शो हो। अहिले यसको निर्माण धमाधम भइरहेको हिमालय टेलिभिजनले जनाएको छ।

पछिल्लो समयका सर्वाधिक चर्चित गायक हुन्, प्रकाश। ‘बोल माया’ गीतबाट एकाएक लोकप्रिय बनेका प्रकाशले त्यसपछि जति पनि गीत सिर्जना गरेका छन्, ती सबैले समाजलाई तरंगित बनाएको छ। प्रेम र वियोगका माधुर्य भाका मात्र होइन, उनले त्यसभित्र सामाजिक विभेद, उत्पीडन, छलकपट, राजनीति जस्ता मुद्दालाई पेचिलो ढंगले समिश्रण गर्ने गरेका छन्।

सोही कारण प्रकाशले सिर्जना गरेका गीत-संगीतले हरेक पटक नयाँ नयाँ बहस सिर्जना गरिरहेका छन्। मेरो पनि हैन र यो देश, बदला बरि लै, कुरा बुझ्नुपर्छ, पीर जस्ता उनका संगीत सिर्जना अत्यधिक रुचाइएको छ।

उनै प्रकाश यसपालि भने सांगीतिक रियालिटी शोबाट सञ्चालकका रुपमा पर्दापण हुने भएका हुन्। उनलाई मञ्चमा अर्की महिला सञ्चालकले साथ दिनेछन्। यद्यपि उक्त सञ्चालकको नाम भने निर्माण समूहले अहिलेसम्म खुलाएका छैनन्।

कार्यक्रममा चर्चित लोकगायक कुमार बस्नेत, रामजी खाँड, ज्योति मगर र कुलेन्द्र विश्वकर्मा निर्णयकको रुपमा रहेका छन्। चर्चित संगीत संयोजक एवं संगीतकार आशिष अविरल संगीत निर्देशकका रुपमा रहेका छन्। कार्यक्रमलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन्।

हिमालय लोकस्टार-२ हिमालय टेलिभिजनमा हरेक मंगलबार र बुधबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रमका विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×