नेपाल उद्योग वाणिज्य महासंघद्वारा देशव्यापी आन्दोलनमा क्षति प्रति गहिरो दुःख व्यक्त

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधन तथा व्यवसायिक सम्पत्तिमा क्षति प्रति गहिरो दुःख व्यक्त गरेको छ। महासंघले ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

महासंघले देशव्यापी रूपमा निर्वाध पेसा र व्यवसाय गर्न सकिने वातावरण सुनिश्चित गर्न आह्वान गरेको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, र राजश्वको सदुपयोगजस्ता विषयमा युवा पुस्ताको चासोलाई सम्मान गर्दै, घटनाक्रमको विवेकपूर्ण समाधानमार्फत देश अगाडि बढ्ने अपेक्षा व्यक्त गरिएको छ।

महासंघले सबै जिल्लाहरू र १०० भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघमार्फत करिब ६ लाख साना, मझौला र ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने बताएको छ। पछिल्लो घटनाक्रममा कतिपय उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा भएको तोडफोड र आगजनीको घटनालाई महासंघले भत्सर्ना गरेको छ।

व्यवसायिक तथा व्यक्तिगत सम्पत्तिमा भविष्यमा आक्रमण नहुने सुनिश्चितताको लागि सबैको ध्यानाकर्षण गराउँदै, निजी क्षेत्रका गतिविधि निर्वाध सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ। निषेधाज्ञा र कर्फ्यूको समयमा अत्यावश्यक सेवा, खाद्यान्न, औषधि, पेट्रोलियम, फलफूल र तरकारीको आपूर्ति सहज बनाउन पनि आग्रह गरिएको छ।

महासंघले देशको आर्थिक स्थायित्व, रोजगारी प्रवर्द्धन र समुन्नत समाज निर्माणका लागि उपयुक्त वातावरण सिर्जना गर्न केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरमा सुरक्षा समितिसँग सहकार्यको आवश्यकतामा जोड दिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×