काठमाडौँ - यति बेला दक्षिण भारतीय फिल्मको दबदबा निकै बढेको छ। दक्षिण भारतीय फिल्महरु एक पछि अर्को गर्दै रिलिज भइ रहेका मात्र छैनन् एक पछि अर्को रेकर्ड बनाउने र तोड्ने क्रम जारी रहेको छ। पुष्पा, आरआरआर हुँदै अब बैशाख १ देखि प्रदर्शनमा आउन लागेको केजीएफ च्याप्टर २ ले रिलिज अगाडि नै आरआरआरको रेकर्ड तोडिसकेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार आरआरआरले रिलिज अघिको अग्रिम बुकिङबाट ५ करोड मात्र कमाएको थियो तर यसको रेकर्ड तोड्दै केजीएफ च्याप्टर २ ले अग्रिम बुकिङबाट मात्र २५ करोड आमदानी गरिसकेको छ। यो रकम आरआरआरको भन्दा ५ गुणा बढी हो। अग्रिम बुकिंग मार्फत केजीएफ च्याप्टर-२ को हिन्दी संस्करणले ११.४० करोड, तेलुगुले ५ करोड, कन्नडले ४.९० करोड, तमिलले २ करोड र मलयालमले १.९० करोड गरि जम्मा २५.२० करोड कमाइसकेको छ।
यशको फिल्मको दोस्रो भागमा बलिउड सुपरस्टार सञ्जय दत्त पनि महत्वपूर्ण भूमिकामा रहेका छन्। फिल्ममा उनी अधीराको भूमिकामा देखिनेछन्। फिल्ममा उनको क्यारेक्टरलाई लिएर फ्यानहरुको उत्साह पनि फरक स्तरमा छ। यस फिल्ममा रविना टण्डन पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन्।
केजीएफले पहिलो भागबाटै चर्चा कमाइ सकेको थियो र दर्शकहरु त्यसै समयबाट दोस्रो भागको प्रतिक्षामा थिए। यसले गर्दा त दर्शकको अपेक्षा धेरै थियो नै त्यसमा पनि दोस्रो भागमा सञ्जय दत्त रहनुले पनि फिल्म प्रति दर्शकको अपेक्षा अत्यधिक रहेको देखिन्छ।
केजीएफ च्याप्टर २ले अग्रिम बुकिङमा त आरआरआरको रेकर्ड तोड्यो तर फिल्म प्रदर्शन भए पछि पनि यसले रेकर्ड तोड्न सक्ला वा नसक्ला त्यो भने फिल्म प्रदर्शनमा आएपछि नै थाहा होला।