काठमाडौँ - भारतले न्युजिल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ। मंगलबार वर्षाको कारण तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल डीएल पद्धतिको आधारमा ‘टाई’ भएसँगै भारतले ३ खेलको सिरिज १-० ले सिरिज जितेको हो।
घरेलु टोली न्युजिल्यान्डले दिएको १६१ रनको लक्ष्यसहित भारतले ब्याटिङ गरिरहँदा वर्षाको कारण खेल रोकिएको थियो। त्यसपछि भारतले ९ ओभरमा ७६ रनको नयाँ लक्ष्य पायो। भारतले यस लक्ष्य पछ्याउने क्रममा ९ ओभरमा ७५ रन बनायो र खेल ‘टाई’ भयो।
भारतका लागि कप्तान हार्दिक पाण्ड्याले ३० रन बनाउँदा सुर्यकुमार यादवले १३ रन बनाएका थिए। घरेलु टोलीका लागि कप्तान टिम साउदीले २ तथा एडम मिल्न र ईस सोधीले समान १/१ विकेट लिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले १९.४ ओभरमा अलआउट हुदैँ १६० रन बनाएको थियो। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स तथा डेभन कन्वेले अर्धशतकीय पारी खेलेका थिए। कन्वेले ५९ रन बनाउँदा फिलिप्सले ५४ रन बनाएका थिए।
भारतका लागि मोहम्मद सिराज र अर्शदिप सिंहले समान ४/४ तथा हर्षल पटेलले १ विकेट लिएका थिए।