काठमाडौँ – मिसेस युएसए युनिभर्स अवार्ड विजेता मिनु गुप्ताले माइती नेपाललाई अनुदान दिने उद्घोष गरेकी छन्। अमेरिकमा बसोबास गर्दै आएकी गुप्ताले आफ्नो कम्पनी इग्नाइटको कमाइबाट २० प्रतिशत रकम माइती नेपाललाई दिने उद्घोष गरेकी हुन्।
यस कार्यका लागि अनुराधा कोइरालासँग छलफल भएको बताइन्। आज (बिहीबार) रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरी उनले मानव बेचविखन र घरेलु हिंसाविरुद्धको कार्य गर्न उक्त सहयोग गर्न लागेको जानकारी दिइन्।
साथै, उनले शिक्षाको महत्व र आर्थिक निर्भरताको महत्व र आफ्नो संघर्षबारे जानकारी गराउन पनि कार्यक्रम आयोजना गरेको बताइन्।
उनी मिसेस एसिया–२०२१ को विजेतासमेत हुन्। भारतमा जन्मिएकी मिनु गुप्ताले नेपालमा विवाह गरेकी थिइन्। उनी लामो समयदेखि अमेरिका बस्दै आएकी छन्। साथै, उनले आफ्नो पहिलो गोल अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम राख्नु रहेको बताइन्। उनले आफू नेपाली कल्चर र हेरिटेजलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा चिनाउन लागिपरेको बताइन्।