तीन महिनामा ८५२ वस्तुका नमूना सङ्कलन

काठमाडौँ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो त्रैमासिकमा ९तीन महिनामा साउन १ गतेदेखि असोज मसान्तसम्म० ८५२ नमूना सङ्कलन गरेको छ।

पहिलो तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार उक्त बस्तुको नमूना सङ्कलन गरिएको विभागले जनाएको छ। विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार तीन महिनाको अवधिमा विभिन्न खाद्य पदार्थमा २७ मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ। विभागले दायर गरेका मुद्दामध्येमा दूध तथा दुग्ध पदार्थका नौ, मसला पदार्थका पाँच, खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थ पाँच, प्रशोधित पिउने पानीका तीन, चियाका दुई, सोयासस, तेल र दानाका एक-एक रहेका छन्। उक्त मुद्दामध्येमा ११ दूषितका, नौ मुद्दा न्यून गुणस्तरका र छ मुद्दा लेवललगायतका विवरण नमिलेका मुद्दा दर्ता भएका जनाइएको छ।

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था छ। विभागले तीन महिनाको अवधिमा देशभरका आठ कार्यालय र २२ डिभिजन कार्यालय गरी ४३ कार्यालयबाट नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ। ४३ कार्यालयले तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ८५२ नमूना सङ्कलन गरेका थिए। उक्त सङ्कलित नमूनामध्ये खाद्यान्न-दलहनजन्यका १३१, तेल तथा ध्यूजन्यका ९४, फल तथा सागपातजन्य पदार्थ ७४, दाना पदार्थका ४५, मसलाका ४०, चिया कफिका २८, दूध तथा दुग्धपदार्थका २१, प्रशोधित पिउने पानीका ४० र कन्फेक्सनरिका १६ नमूना रहेका थिए।

परीक्षण गरिएका नमूनामध्ये ३६ नमूना मात्रै प्रतिकूल रहेको प्रवक्ता महर्जनले जानकारी दिए। उनका अनुसार प्रतिकूल रहेकामा खाद्यान्नका आठ नमूना, प्रशोधित पिउने पानीका सात, दूध तथा दुग्ध पदार्थका चार, दानापदार्थका चार नमूनालगायतका अन्य खाद्य पदार्थ रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×