काठमाडौं । नेकपा एमालेको महाधिवेशन मिति समीपमा आइपुगेसँगै राजनीतिक वृत्तमा मात्र होइन आम जनतामा समेत चासो बढेको छ । विशेष गरेर पार्टीको आगामी नेतृत्वलाई लिएर धेरैको चासो बढेको हो ।
त्यसो त हालका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत रुपमा अध्यक्षमा दोहोर्याउने एमालेको योजना छ । त्यसका लागि एमालेले ओली अनुकुल विधान समेत अनुमोदन गरिसकेको छ ।
ललितपुरको गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागू गरेको छ । ओलीको उमेर आगामी फेब्रुअरी २२ मा ७० वर्ष पुग्दैछन् । त्यसैले एमालेले ओलीको उमेरलाई लक्षित गरेर नै मंसिरमा महाधिवेशन सम्पन्न गर्न लागेको छ । महाधिवेशनसम्म ७० वर्ष नपुगेका उम्मेदवारले नेतृत्वमा दाबी गर्न पाउने नयाँ विधानमा उल्लेख छ । ओली तीन महिनाले नाफामा रहे पनि उमेरकै कारण एमालेका शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चार नेता भने चितवन महाधिवेशनबाट बिदाई हुँदैछन् ।
विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा चितवन महाधिवेशनबाट एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदैछन् । उनी ७३ वर्षका भइसकेका छन् ।
बोहोरासँगै मधेसका शक्तिशाली मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै विदाई हुँदैछन् । उनी ७० वर्ष पुगिसकेका छन् ।
अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसकेका छन् । त्यसैले उनी पनि चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट ‘रिङ आउट’ हुँदैछन् ।