काठमाडौँ - नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य तथा गोलरक्षक अभिषेक बराल कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन्। राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा काँधमा चोट लागेपछि युवा गोलरक्षक अभिषेक प्रशिक्षण बाहिर रहेका छन्। हाल उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको।
नेपाली टिम यतिबेला जेठ अन्तिम साता कुवेतमा हुने एएफसी एसियन कप–२०२३ छनोटको तयारीमा रहेको छ। टिमको प्रशिक्षण दशरथ रंगशालामा भइरहेको छ। राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादका कारण नियमित टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अभिषेकले पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षकमा मौका पाएका थिए।
नियमित गोलरक्षक तथा कप्तान किरण चेमजोङ व्यावसायिक फुटबलका लागि माल्दिभ्सको माजिया एससीमा आबद्ध भैरहेका छन्। यता, विद्रोहका कारण अर्का गोलरक्षक विशाल श्रेष्ठ टिम बाहिर छन्। भने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएको कारण खेलाडीले होटेल छाडेपछि कल भएका विकेश कुथु प्रशिक्षणमा सामेल भएका छैनन्।
हाल टोलीमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र थापा गोलरक्षक रहेका छन्।