काठमाडौँ - दक्षिण भारतीय चलचित्र 'आरआरआर’ले एसएस राजामौलीकै 'बाहुबली’ र 'बाहुबली-२’ को किर्तिमानी तोड्दै उत्कृष्ट व्यापार गर्न सफल भएको छ। शुक्रबार प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनमा नै दुई सय करोडभन्दा बढी व्यापार गरेको थियो।
'आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पहिलो दिनमा नै भारतबाट १५६ करोड र विदेशबाट ६७ करोड गरी कुल २२३ करोडको कमाइ गरिसकेको छ। उक्त तथ्याङ्कअनुसार प्रदेशमा ७५ करोड, निजाममा २७ करोड ५० लाख, कर्नाटकमा १४ करोड ५० लाख, तमिलनाडु १० करोड, केरलामा चार करोड, नर्थ इन्डियामा २५ करोडको व्यापार फिल्मले गरेको छ। यसै गरी संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशमा २५ करोडको व्यापार गरेको तथ्याङ्कले देखाएको छ।
जब कि एसएस राजमौलीको 'बाहुबली' ले विश्वभर ७५ करोड र 'बाहुबली -२'ले २१७ करोड कमाएको थियो। यसबाट 'आरआरआर’ले यी दुवै फिल्मको किर्तिमानी तोडेको देखिन्छ।
'आरआरआर’ले नेपालमा पनि पहिलो दिन एक करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको थियो।