काठमाडौँ - बलिउडमा विशेष पहिचान बोकेका अभिनेता तथा स्क्रिनराइटर शिव कुमार सुब्रमण्यमको निधन भएको छ। दिवंगत शिव कुमार केही समयअघि फिल्म ‘मिनाक्षी सुन्दरेश्वर’ मा देखिएका थिए। यो फिल्ममा उनको अभिनय र पात्रलाई असाध्यै रुचाइएको थियो। अभिनेताको अचानकको निधनको कारण के हो त्यसबारे स्पष्ट जानकारी प्राप्त छैन।
शिव कुमार सुब्रमण्यमले दुई महिना अघि ब्रेन ट्युमरका कारण आफ्नो छोरा गुमाएका थिए। छोराको निधन भएको दुई महिना पछि शिव कुमार पनि यो संसारबाट बिदा भए। अभिनेता शिव कुमार आलिया भट्टको फिल्म टु स्टेट्समा देखिएका थिए। यसबाहेक उनी तीन पत्ती, रानी मुखर्जीको फिल्म हिचकीमा पनि देखिएका थिए। उनले सिरियल मुक्ति बन्धनमा पनि काम गरिसकेका छन्। एक अभिनेता हुनुका साथै उनले फिल्म परिंदा, १९४२ ए अभ स्टोरी र हजारों ख्वाहिशेंजस्त फिल्मका लागि स्क्रिनप्ले राइटरको रुपमा पनि काम गरिसकेका छन्।