ट्रम्पको सनसनीपूर्ण दाबी: अमेरिकी सैन्य अपरेशनमा भेनेजुएलाका राष्ट्रपति मादुरो ‘पक्राउ’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसल मा सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष अपरेशनका क्रममा मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देश बाहिर लगिएको बताएका हुन्।

ट्रम्पले यसबारे थप विवरण सार्वजनिक गर्न फ्लोरिडास्थित मार–ए–लागोमा पत्रकार सम्मेलन गर्ने घोषणा पनि गरेका छन्। तर, मादुरोलाई कहाँ लगिएको हो भन्नेबारे उनले स्पष्ट पारेका छैनन्।

यसअघि शनिबार बिहानै भेनेजुएलाको राजधानी काराकास र आसपासका क्षेत्रमा भीषण विस्फोटको आवाज सुनिएको थियो भने कम उचाइमा सैन्य विमानहरू उडिरहेको देखिएको थियो। भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो भूभागमा ‘गम्भीर सैन्य आक्रामकता’ देखाएको पुष्टि गरेको छ। सरकारका अनुसार काराकाससहित विभिन्न राज्यहरूमा आक्रमण भएको हो।

भेनेजुएलाले अमेरिकी कदमलाई देशका तेल र खनिज स्रोत कब्जा गर्ने उद्देश्यले गरिएको ‘साम्राज्यवादी आक्रमण’को संज्ञा दिएको छ। सरकारले नागरिकहरूलाई सडकमा उत्रन र राष्ट्रिय रक्षा योजना लागू गर्न आह्वानसमेत गरेको छ।

अमेरिकाले लामो समयदेखि मादुरोमाथि अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सङ्गठनको नेतृत्व गरेको आरोप लगाउँदै आएको छ। केही समयअघि मात्र अमेरिकाले मादुरोको पक्राउका लागि ५ करोड अमेरिकी डलरको पुरस्कार घोषणा गरेको थियो र क्यारिबियन क्षेत्रमा ठूलो सङ्ख्यामा सेना परिचालन गरिएको थियो।

ट्रम्पको दाबी र भेनेजुएला सरकारको प्रतिक्रिया पछि अमेरिका–भेनेजुएला तनाव चरम बिन्दुमा पुगेको छ भने विश्व समुदायको ध्यान यस घटनाक्रमतर्फ केन्द्रित भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×