काठमाडौँ - भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली निकै खराब लयमा छन्। उनको प्रदर्शनको चौतर्फी आलोचना भइरहेको छ। खराब लयका कारण भारतका क्रिकेट विश्लेषक तथा पूर्वखेलाडीले कोहलीलाई टोलीबाट हटाउनुपर्ने तर्कसमेत राखेका छन्।
भारतलाई सन् १९८३ मा विश्वकप जिताउने कप्तान कपिल देवले पनि कोहलीलाई केही समयका लागि टी-२० टोलीबाट बाहिर राख्नुपर्ने बताएका थिए। समर्थक पनि कोहलीको प्रदर्शनलाई लिएर उत्तिकै आक्रोशित भइरहेका छन्। यद्यपि कप्तान रहेका रोहित शर्माले भने कोहलीको बचाउ गर्दै बाहिरी कुराले खासै महत्व नराख्ने प्रतिक्रिया दिएका छन्।
‘हाम्रो लागि कुनै कठिन छैन, हामी बाहिरको कुरा सुन्दैनौं। एक्सपर्ट (विशेषज्ञ) को हुन्? उनीहरूलाई किन एक्स्पर्ट भनिन्छ? उनीहरूलाई भित्र के चलेको छ थाह हुँदैन’, रोहितले कोहलीको बचाउ गर्दै भनेका छन्।
उनल अगाडि भने, ‘हामी टोली बनाउछौं, त्यसको पछाडि धेरै छलफल र विचार हुन्छ। खेलाडीलाई मौका र साथ दिनुपर्छ। यो कुरा बाहिरी मानिसलाई थाह हुँदैन। यसैले बाहिर के भएको छभन्दा पनि भित्र के भएको छ त्यो बढी महत्वपूर्ण रहेको हुन्छ।’
कोहलीले इंग्ल्याण्डसँगको टी-२० सिरिजमा १ र ११ रन मात्र बनाउन सकेका थिए। पहिलो खेलमा भने उनलाई विश्राम दिइएको थियो। कुनै समय लगातार शतकको कीर्तिमान राख्दै आएका कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो ३ वर्षदेखि शतकविहीन रहेका छन्।
भारतका अन्य खेलाडी दीपक हूडा, सञ्जु स्यामसन, श्रेयस अय्यरलगायतका खेलाडीले लगातार राम्रो प्रदर्शन गरिरहेको हुँदा कोहलीको स्थानमा उनीहरूलाई मौका दिनुपर्ने आवाज उठ्दै आएको छ।
‘तपाईं फर्म (लय) को कुरा गर्नुहुन्छ भने त्यो तलमाथि सबैको हुन्छ। तर खेलाडीको गुण कहिल्यै खराब हुँदैन। यो हामीले सधैं ध्यानमा राख्नुपर्छ। खराब प्रदर्शनमा पनि खेलाडीको क्षमतालाई साथ दिएको हुनुपर्छ,’ कोहलीको आलोचनाबारे रोहितले भने, ‘जब कुनै खेलाडीले लामो समयदेखि निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ भने १/२ सिरिज वा वर्षमा नराम्रो खेल्दैमा उनी बाहिर हुनुहुँदैन।’
‘खेलाडीलाई बुझ्न बाहिरका मानिसलाई धेरै समय लाग्छ। टोलीमा कोहलीको महत्व कति छ भन्ने हामीलाई राम्रोसँग थाहा छ। बाहिर कुरा गर्न सबैलाई अधिकार रहेको छ। तर त्यसले हामीलाई खासै फरक पर्दैन’, रोहितले थपेका छन्।
भारत र इंग्ल्याण्डबीच आजबाट ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ। टी-२० विश्वकप अघि कोहलीको प्रदर्शनलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। टी-२० विश्वकप आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुँदैछ।