काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन् । काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि मंगलवार भएको दोस्रो चरणको मतदानमा २७३३ मत ल्याएर देउवा सभापतिमा निर्वाचित भएका हुन् ।
काग्रेस सभापति देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् ।
दिउँसो साढे ३ बजेबाट सुरु भएको दोस्रो चरणको मतदान राति साढे ९ बजे सकिएको थियो । मध्यरातमा शुरु भएको मतगणनामा देउवा निर्वाचित भएका हुन् ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा थिए । दोस्रो चरणको मतदानमा चार हजार ५६२ मत मात्र खसेको थियो । यो पहिलो चरणको मतदानभन्दा ११७ मत कम हो ।
पहिलो चरणमा सभापतिको उम्मेदवार रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र किरण गुरुङ तीनैजनाले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका थिए ।