काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफल कार्यक्रममा उनले राहतमा कुनै ढिलाइ नहोस् भन्ने नै सरकारको प्राथमिकता रहेको बताए ।
गृहमन्त्री लामिछानेले भने, ‘आपतका बेला सरकार दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थाको होइन । राहतको कुरा गर्दा स्रोत जुटाउनमा कुनै ढिलाइ गरेका छैनाैं । स्रोत परिचालन गरेका छौँ ।’ विपतको अनुमान गर्न नसकिए पनि अग्रिम तयारी भने गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘प्राप्त जानकारीका आधारमा सतर्क रहन सकिन्छ, जसले गर्दा जनधनको क्षति कम हुन्छ । गत वर्षको गल्तीलाई नदोहोर्याउने गरी तयारी गर्न जरुरी छ ।’