काठमाडौँ - महिला युरो-२०२२ को पहिलो सेमिफाइनल खेलमा आज स्विडेन र आयोजक इङल्यान्ड भिड्दैछन्। ब्रमल लेन स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती १२ः ४५ बजेबाट सुरु हुनेछ।
घरेलु मैदान र घरेलु दर्शकबीच उत्कृष्ट जित निकाल्दै फाइनल पुग्ने लक्षसहित इङल्यान्ड मैदानमा उत्रिनेछ। तर इतिहास हेर्दा इङल्यान्डभन्दा स्विडेन बलियो देखिन्छ। फिफा वरियताको दोस्रो स्थानमा रहेको स्विडेन हालसम्म महिला युरोमा इङल्यान्डसँग सातौं पटक भिड्दैछ। यस अघिका ६ खेलमा इङलयान्डले स्विडेनविरुद्ध १ खेलमा मात्रै जित निकालेको छ।
सन् १९८२मा आयेजना भएको पहिलो युरोकपको उपाधि जितेयता स्विडेन युरो कपमा ३ पटक फाइनल पुगेर पराजित भएको छ। यस्तै ३ पटक सेमिफाइनलबाट बाहिरिएको छ।
समूह चरणम अपराजित रहँदै इङल्यान्ड क्वार्टरफाइनल पुगेको थियो। क्वार्टरफाइनल खेलको अतिरिक्त समयमा स्पेनमाथि २-१ को नतिजामा जित निकाल्दै इङल्यान्डले सेमिफाइनल यात्रा तय गरेको थियो।
सेमिफाइनल पुग्नु इङल्यान्डका लागि नयाँ कुरा हैन, सन् २०१५ र २०१९ मा विश्वकपको फाइनल समेत पुगेको इङल्यान्ड दुवै फाइनलमा पराजित भएको थियो। इङल्यान्ड सन् २०१७मा युरो कपको फाइनल पनि पुगेको थियो। तर, युरोकप फाइनलमा नेदरल्यान्डसँग पराजित भएको थियो।
इङल्यान्डकी फरवार्ड फ्रान किर्बी यी सबै हारहरुको साक्षि छिन्। र, यसपटका घरेलु मैदानमा स्विडेनविरुद्ध जित निकाल्दै फाइनल पुग्न उनी थप उत्प्रेरित छिन्।
‘म फेरि अर्को मुख्य प्रतियोगितामा सेमिफाइनलमा पराजित भएर फाइनल नपुग्ने खेलाडी बन्न चाहान्न,’ उनले भनिन्। फाइनल पुग्न नसक्दाको पिडाले महिनौ सताउने गरेको म अनुभव गर्न चाहान्न। इङल्यान्ड टिम यस पटक फाइनल पुग्नुले धेरै ठूलो अर्थ राख्छ,’ उनले भनिन्।
यस्तै, स्विडेनकी फरवार्ड कोसोभारे अस्लिानीले घरेलु टिमसँग खेल्दा निकैनै विशेष र रोमाञ्चक हुने बताएकी छिन्। ‘दुवै टिमले आक्रामक फुटबल खेल्न खोजिरहेका छौँ। जुन खेल हामीलाई भने उपयुक्त हुनेछ। घरेलु टिमसँग खेल्नु निकैनै विशेष र रोमाञ्चक हुने गर्छ,’ उनले भनिन्।
‘उनीहरु रक्षात्मक र आक्रामक रुपमा उत्कृष्ट छन्। तर हामी पनि त्यसमा उत्तिकै अब्बल छौँ। हामी उत्साहित छौँ। हामी उत्कृष्ट टिमसँग प्रतिस्पर्धा गदैछौँ। तर, हामीलाई यो थाहा छ आयोजक टिमसँग खेल्नु निकैनै विशेष हुनेछ,’ अस्लिानीले भनिन्।
महिला युरोको दोस्रो सेमिफाइनल बुधबार राती फ्रान्स र जर्मनीबीच हुनेछ।