जर्मनी नवौं तथा फ्रान्स पहिलोपटक युरो कपको फाइनल पुग्ने लक्ष्यमा

काठमाडौँ - इंल्याण्डमा जारी महिला युरोकपको दोस्रो तथा अन्तिम सेमिफाइनलमा आज जर्मनीले फ्रान्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट एमके रंगशालामा सुरु हुनेछ।

जर्मनी महिला युरोकपको सबैभन्दा सफल टोली हो। फ्रान्स प्रतियोगिताका लागि केही हदसम्म नयाँ जस्तै छ। नयाँ यस अर्थमा ऊ पहिलोपटकयुरोकपको सेमिफाइनल खेल्दैछ। सन् १९८४ बाट सुरु भएको महिला युरोकपको हालसम्म १२ संस्करण समाप्त हुँदा जर्मनीले मात्र आठ उपाधि हात पारेको छ।

यसक्रममा ऊ १९९५ देखि २०१३ सम्म लगातार ६ पटक विजेताका बनेको थियो। गत संस्करण क्वार्टरफाइनलबाटै बाहिरिएको जर्मनीको लक्ष्य यो संस्करणको फाइनल पुग्नु मात्र नभएर नवौं उपाधि उचाल्ने हुनेछ। त्यसका लागि उ आज फ्रान्सको चुनाैती पन्छाउने प्रयासमा छ।

जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिहेको जर्मनीले हालसम्मका ४ खेलमा ११ गोल गर्दा १ गोल पनि खाएको छैन। उसले समूह चरणमा डेनमार्कलाई ४-०, स्पेनलाई २-० र फिनल्याण्डलाई ३-० ले पराजित गर्दा क्वार्टरफाइनलमा अस्ट्रियामाथि २-० को जित निकालेको थियो।

फ्रान्ससमक्ष नयाँ इतिहास बनाउने अवसर छ। ऊ जर्मनीलाई पन्छाउँदै पहिलोपटक युरो फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। तर, बलियो टोलीविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन। 

प्रतियोगितामा मध्यम प्रदर्शन गरिरहेको फ्रान्सले हालसम्म ४ खेलमा ९ गोल गर्दा ३ गोल खाएको छ। उसले समूह चरणमा इटालीलाई ५-१, बेल्जियमलाई २-१ ले पराजित गर्दा आइसल्याण्डसँग १-१ को बराबरी खेलेको थियो।

फ्रान्स क्वार्टरफाइनलमा साविक विजेता नेदरल्याण्ड्समाथि १-० को कठिन जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। फ्रान्सले समूह चरणका सबै खेलमा गोल खाएको थियो।

प्रतियोगिताको सबैभन्दा सफल तथा बलियो टोली जर्मनी र नयाँ अनुभव लिइरहेको फ्रान्सबीचको सेमिफाइनल भिडन्त रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ। यो खेलको विजेताले उपाधिका लागि आयोजक इंग्ल्याण्डको सामना गर्नेछ। इंग्ल्याण्ड पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै फाइनल पुगेको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×