काठमाडौँ । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सडक निर्माण गरेका मजदूरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन्। मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए। प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए। उनले आफूहरूलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए। उनले भने, “ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौँ।”
ताला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए।