काठमाडौं - कतारमा जारी एएफसी एसियन कपमा भारत समूह चरणबाटै बाहिरिएको छ ।
आज भएको समूहको तेस्रो खेलमा सिरियासँग १–० गोलले पराजित भएसँगै भारत एसियाको समूह चरणबाटै बाहिरिएको हो ।
भारतविरूद्ध जित निकाल्ने क्रममा सिरियाका ओमार ख्रिबिनले निर्णायक गोल गरेका थिए । उनले खेलको ७६ मिनेटमा गोल गरेका थिए ।
यसअघि भारतले पहिलो खेलमा अस्ट्रेलियासँग २–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–० को हार बेहोरेको थियो।
समूह ‘बी’ को पुछारमा रहेको भारत अंकबिहीन भयो। यस्तै ६ गोल खाँदा कुनै गोल गर्न सकेन ।
यो समूहबाट अस्ट्रेलिया ७ अंक जोडेर विजेता र उज्वेकिस्तान ५ अंक जोडेर उपविजेता बनेर अन्तिम १६ मा पुगे । आजै भएको खेलमा अस्ट्रेलिया र उज्वेकिस्तानले १–१ गोलको बराबरी खेलेर अंक बाँडे ।
४ अंक जोडेर तेस्रो भएको सिरियाको पनि उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्ने सम्भावना बाँकी छ ।