नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले यो पटक हुने आमनिर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
गृहजिल्ला बाजुरा पुगेका पाण्डेले माघ ११ गतेको राष्ट्रियसभा तथा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन दुबैमा आफू नउठ्ने जनाएका हुन्।
२०७९ को प्रतिनिधिसभा चुनावबाट बाजुराबाट विजयी भएका पाण्डे त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए। जेनजी आन्दोलनको समयमा उनी मन्त्रीकै भूमिकामा थिए।
पाण्डेले जेनजी आन्दोलनका क्रममा सरकारमा रहेकाले युवाहरूका मागहरू अपेक्षित रूपमा सम्बोधन गर्न नसकिएको अनुभव रहेको बताए। आन्दोलनरत पक्ष र सरकारबीच भएको तत्कालीन संवादमा आफू प्रत्यक्ष सहभागी नभए पनि मन्त्रिपरिषद् सदस्यको नैतिक जिम्मेवारी आफूले लिने उल्लेख गरे।
यही पृष्ठभूमिमा उनले यो पटक चुनाव नलड्ने निर्णय गरेको बताए।
उनका अनुसार अहिलेको प्राथमिकता पार्टीलाई वैचारिक रूपमा मजबूत बनाउने, संगठनलाई सक्रिय र प्रभावकारी बनाउने, र पार्टीभित्रका नयाँ योग्य अनुहारलाई अघि बढाउन सहयोग गर्ने हो।
आगामी दिनमा आफ्नो अनुभव र दृष्टिकोणमार्फत पार्टीसँगै देशका लागि अझ प्रभावकारी योगदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।