काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशको पूर्वी क्षेत्रमा बाढीको जोखिम बढेको जनाएको छ ।
महाशाखाले सूचना जारी गरी पूर्वका कतिपय स्थानमा बाढी आउने सम्भावना रहेको भन्दै बाढीबाट हुनसक्ने क्षतिबाट बच्न आग्रह गरेको हो । बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, कन्काई, कमला र यसका सहायक नदीमा उल्लेख्य बहाव बढ्ने सम्भावना छ ।
आज मेची, विरिङ, निन्दा, कन्काईलगायत झापा जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । त्यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।