काठमाडौँ - १५ पुषबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो।
लभ, एक्सन, सस्पेन्स र थ्रिलर समेटिएको १ मिनेट १५ सेकेन्डको टिजरमा अभिनेता आर्यन सिग्देलको साउथ शैलीको एक्सनका झलक छन्। उनको रोमान्टिक मुड समेत देख्न सकिन्छ। टिजरमा अभिनेत्री उपासनासिंह ठकुरी नर्सको भूमिकामा छिन्। एक्सन र लभस्टोरी फिल्मका पारुखीलाई ‘डिसेम्बर फल्स’ ले आकर्षित गर्न सक्छ। प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन्। रिजालले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन्। ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो।
फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय रहेको छ। रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन्।