काठमाडौँ - बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ। ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौमा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा सलमान खान नआउने भएका हुन्।
ओडिसी इन्टरटेनमेन्टले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको व्यस्तता निकै बढेको तथा स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाका कारणसमेत देखाउँदै हाललाई कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ।
सलमान नेपाल आउने कार्यक्रमसँग कोअर्डिनेसन गरिरहेका राधेश्याम भनिने ज्याकसनले भने कार्यक्रम रद्द नभएको बताए। उनले भोलि बेलुकीसम्म धैर्य गर्न आग्रह गरेका थिए। ‘रद्द गर्ने भन्ने त्यस्तो कुनै निर्णय भएको छैन। मुम्बईबाट भोलि सामान लिएर जहाज आउँदैछ। भोलि बेलुकीसम्म पर्खनुहोला,’ उनले भने।
सो कार्यक्रममा सलमान खानसहित आउने स्वदेशी र विदेशी कलाकारहरू मध्ये चर्चित भारतीय नायिका ज्याकलिन फर्नाडिज माथि लागेको एक मुद्दाको क्रममै भारत सरकारले देश छोड्न प्रतिबन्ध लगाएको सन्दर्भमा उनले नेपालको इभेन्टमा आउनलाई अदालतमा दिएको निवेदनमाथि सकारात्मक निर्णय नआएको पनि आयोजकको भनाइ छ। तर नेपालमा ज्याकलिन फर्नाडिजको फोटो राखेर होर्डिङ बोर्ड बनाएको, पोष्टर टाँसेको, टिकट बेचेको परिप्रेक्ष्यमा अहिले मुम्बईको टिमले उनको सट्टामा प्रजा हेगेडेलाई पठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
तर नेपालमा अचानक कलाकार परिवर्तनबारे टिकट काट्ने दर्शकलाई नयाँ अभिनेत्रीको सन्दर्भमा शो हेर्ने वा नहेर्ने संविधानतः अधिकार अनुसार राईट अफ च्वाईसको अवसर दिनुपर्ने देखिएको ओडीसीको भनाइ छ। ‘यदि कसैले अभिनेत्री परिवर्तनको विषय मन नपरेर टिकट फिर्ता लिन चाहेमा हामीले कम्तीमा २ हप्ता म्याद दिएर कलाकार परिवर्तन बारे सार्वजनिक सुचना दिनुपर्ने कानुनी सल्लाहकारको राय सुझाव आयो’, विज्ञप्तिमा भनिएको छ, ‘करोडौं खर्च गरेर कार्यक्रम तयारीको लागि २८ वटा ट्रक भारतीय सिमानामा पुगेको तर लामो बिदाले सोचे अनरुपको भन्सार अनुमतिपत्र प्राप्तिमा भएको ढिलाइ, प्रतिकुल मौसमको कारणले १० वटा ट्रक समेत रोकिएको र विभिन्न प्राविधिक कारण हामीले कार्यक्रम सार्ने निर्णय मन्त्रालय, प्रशासन, भारतीय प्रोडक्सन र आरट्रीस्ट टोलिको सुझावमा गरेको छ।’
आयोजकले सलमानसहितको टिमलाई अग्रिम पारिश्रमिकसमेत दिइसकेको छ। तर, अहिले तयारी नपुगेको र अन्य कारण देखाएर कार्यक्रम स्थगन गरिएको हो। अभिनेत्री ज्याकलिन फर्नान्डिसले नेपाल आउने अनुमति नपाएको अन्य विविध कारणले अहिले गर्न नसकिएको स्रोतले भन्यो।
कन्सर्टका लागि ५ हजारदेखि २५ हजार रुपैयाँको टिकट मूल्य तोकिएको छ। आयोजकले बिक्री भइसकेका टिकट फिर्ता लिन चाहानेलाई फिर्ता दिने र नगर्नेलाई पछि सोही टिकटबा कार्यक्रम हेर्न दिने तयारी गरेको पनि स्रोतले बताएको छ। यसै कार्यक्रमको सन्दर्भमा पर्यटनमन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका थिए।
टुरका लागि सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन, प्रभु देवा, साइ मान्जरेकर, गुरु रान्धावा आदि कलाकार भारतबाट आउने बताइएको थियो। यसै गरी नेपालबाट शिव परियार, सुशान्त केसी, माला लिम्बू, मुना गौचन आदिले गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम थियो।