भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ । मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो ।
तिवारीभञ्ज्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्ग्रेसम्म पु¥याउने लक्ष्यका साथ दुई प्याकेजमा कालोपत्र भइरहेकोले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र सम्पन्न हुने उनको भनाइ छ ।
तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो प्याकेजमा काम भइरहेको उनले बताए । पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित रु एक करोड र दोस्रो प्याकेजको भ्याटसहित रु चार करोड दुई लाख लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।
‘तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र थालेका छौँ’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘सडकको काम दुई प्याकेजमा भइरहेको छ । कालोपत्रको काम समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको छ । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र हुन्छ ।’ सडक सङ्घीय समपूरक अनुदान, प्रदेश समपूरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र थालिएको हो ।