काठमाडौँ - अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी उच्च अदालत पोखराले पनि आदेश दिएपछि फिल्म ‘सत्यम्’ छायांकन पुनः अनिश्चित बनेको छ। पल रिहा भएपछि छायांकनमा जाने आशामा रहेका निर्माताको योजना अन्योलग्रस्त बनेको हो।
जोशीले फिल्म निर्माता रेशम सापकोटाको तस्वीर सेयर गर्दै ‘सत्यम्’ फिल्मको प्रसंग उल्लेख गरेका छन्। ‘म पोखरामा छु तपाईं कता ? फोन अफ छ। तपाईंको नियतमाथि शंका लाग्यो,’ जोशीले लेखेका छन्।
पललाई थुनामै राख्ने अदालतको आदेशको भोलिपल्ट जोशीको उक्त स्टाटसले फिल्मको छायांकन अन्योलमा परेको संकेत गर्छ। स्रोतका अनुसार निर्माता सापकोटा र जोशीबीच आर्थिक कारोबार भएको बताइन्छ। अदालतको आदेशपछि निर्माता सापकोटाको फोन अफ रहेको छ।
पल रिहा भएपछि तत्काल छायांकनमा जाने भन्दै निर्माता सापकोटाले अभिनेता राजेश हमाललाई पनि पर्खाएका थिए। यसअघि हमालले आफूले लामो समय फिल्मको लागि प्रतीक्षा गर्न नसक्ने बताएका थिए।
‘सत्यम्’ फिल्मबाट हमाल र पलले महंगो पारिश्रमिक लिएका छन्। ‘सत्यम्’ अब पलबिना नै छायांकनमा जान्छ कि निर्माण नै हुँदैन भन्ने चासो सुरु भएको छ।
यसै महिनाको सुरुवातमा फिल्मको गीत समेत रिलिज भएको थियो जहाँ हमाललाई देखाइएको छ।