इलाम - इलामको प्रमुख पर्यटकीयस्थल कन्याममा रहेको एक निजी होटलले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति दिएको छ। पर्यटन व्यवसायी टीका ओडारीले आफ्नै लगानीमा सञ्चालित ‘कन्याम इन होटल’ मा रहेका शौचालयलाई सार्वजनिक खुला गरेका हुन्।
यस पर्यटकीयस्थलमा हालसम्म सार्वजनिक शौचालय नभएकाले आफूले होटललाई नै प्रयोग गर्ने गरी यस्तो काम थालिएको उनले बताए। पर्यटन व्यवसायीले कन्यामलाई फोहर व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणको माग गर्दै आए पनि पूरा हुनसकेको छैन। सूर्योदय नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्न नसक्दा कन्याम आउने सयौँ पर्यटक समस्यामा पर्दै आएका छन्।
देशकै ठूलो अर्थात् काठमाडौँ महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै पर्यटकीय जिल्ला इलाममा यसको प्रयोगसमेत सुरु भइसकेको छ। आफ्नो होटलका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न पाउँदा पर्यटकलाई समेत सहज भएको व्यवसायी ओडारीले बताए।
कन्याममा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन्। उनले पर्यटकीयस्थल कन्याममा पहिलोपटक व्यावसायिकरूपमा होटल तथा लज सुरु गरेका हुन्।
यहाँ घोडचरी, प्याराग्लाइडिङलगायतका थुप्रै सेवा उपलब्ध भए पनि आवश्यक पर्ने सार्वजनिक शौचालय नहुँदा समस्या हुँदै आएको थियो।