लिटल फ्लावर प्रिमियर लिग : शारदा र स्टेपिङ विजयी

धनगढी - धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत आज भएका दुई खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन्। 

आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १०० रनको सानदार जीत दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो। १७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। 

सैनिकका खड्क बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन्। सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए । अर्जुनसिंह साउदले तीन र मिलन बोहराले दुई विकेट लिए। 

यसअघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ४५ रनको पारी खेले। उसका सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे। सैनिकका खड्क बोहराले तीन र आकाश चन्दले दुई विकेट लिए। 

खेलको ‘प्लेयर अफ दी म्याच’ विकास सुनार घोषित भए । गेम चेन्जर अवार्ड अर्जुनसिंह साउदले पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनिल चन्दले पाए। 

त्यस्तै आजै भएको दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवतीमाथि ३० रनको सान्त्वना जीत निकाल्न सफल भयो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५७ रन बनाएको थियो । एक सय ५८ रनको विजयी लक्ष पछ्याएको सत्यवतीले १८.४ मा १२७ रन मात्रै बनाउन सक्यो। 

उसका लागि आदील अन्सारीले २५, सन्तोष कार्कीले २४, खगेन्द्र जोशीले २२, सुजन गौतमले १६, नीरज भट्टले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन। बलिङतर्फ स्टेपिङका दिनेश ओडले चार, कपिल मिश्र, भुपेश जोशी, वीरेन्द्र चन्दले समान दुई-दुई विकेट लिए। 

यसअघि स्टेपिङका लागि अभिषेक कुँवरले ४१ बलमा पाँच छक्का र चार चौका प्रहार गर्दै ६५ रनको उत्कृष्ट पारी खेले। दिनेश ओडले २९, वीरेन्द्र चन्दले २१, आर्यन दानपालीले १९ र विशाल विष्टले ११ रन बनाए। 

बलिङतर्फ सत्यवतीका नीरज भट्ट र सन्दीप खत्रीले समान दुई÷दुई विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ अभिषेक कुँवर भए। गेम चेञ्जर अवार्ड दिनेश ओडले पाउँदा सर्वाधिक छक्काको अवार्ड पनि अभिषेकले नै पाए। सत्यवती यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने स्टेपिङ उपाधि होडबाट बाहिरिसकेको टिम हो। 

समूह चरणको अन्तिम खेल बिहीबार बिहान ९ः३० बजे काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र होलिल्याण्ड स्कुल अत्तरियाबीच हुनेछ। भोलिको खेल जितेको खण्डमा होलिल्याण्ड सेमिफाइनल प्रवेश गर्नेछ। हिमालयन ह्वाइट हाउस, सत्यवती र विद्या भुषण यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×