भोजपुर - भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास हुन थालेको छ। गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो। गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ। विगत वर्षमा भिर मौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयवासीले बताउने गरेका छन्। बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ। खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन्।
गाउँपालिकाले यहाँ पुग्ने बाटो विस्तार गरेसँगै झर्ना वरिपरि पर्यटकलाई लक्ष्य गरेर विभिन्न संरचना निर्माण गरिदिएको छ। भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गर्दछ। झरनाबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ। दैनिक ११–१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ। विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।
पर्यटक झरनासम्मै पुगेर मनोरम दृश्यको रसास्वादन गर्ने गरेका छन्। झरनाको थप प्रचारप्रसार भएसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय शिवकुमार राईले बताए। उनले भने, ‘यो झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। गाउँपालिकाको केन्द्र तथा सदरमुकामबाट नजिकै रहेकाले पनि झरना हेर्न दैनिक जसो मानिस आउने गरेका छन्। यसलाई अझ प्रचार प्रचारमा ध्यान दिन सके गाउँपालिकाको लागि राम्रो आर्थिक स्रोत बन्न सक्छ।’भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्य पहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको संख्यामा वृद्धि भएको पाइन्छ। झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटर भित्र पर्छ। यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन्।
टेम्केमैयुङ गाउँपालिकाको यो भेगमा पर्यटकीय क्षेत्र धेरै छन्। पर्यटकीय गन्तव्य चखेवा डाँडा तथा टेम्के डाँडा, मैयुङ डाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ। त्यस्तै गाउँपालिकाको वडा नं २ मा रहेको गोठेसिं होमस्टे पनि यही भेगमा पर्ने भएकाले घुम्न जाने मानिसको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्थानीयवासीको भनाइ छ। यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम गर्ने गाउँपालिकाले जनाएको छ। यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेत जानकारी दिन्छन्।
यसका लागि अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हुँदै चखेवाभञ्ज्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।
त्यस्तै झरना आसपासमा ससाना दह निर्माण गरेर माछा पालन तथा पार्क निर्माण गर्नाका साथै आगन्तुकलाई लक्षित गरेर खाजा, नास्ता खाने ठाउँको व्यवस्थापन गर्ने अध्यक्ष बस्नेत बताउछन्।
उनी भन्छन्, ‘पछिल्लो समय झरनामा आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढेको छ। यो झरनासम्म पुग्नका लागि हामी सहज आवागमनको व्यवस्था मिलाउने तयारीमा छौँ। यहाँ पुग्न पदमार्ग निर्माण गर्ने योजना छ। गुम्न आउने मानिसले यहाँका मुख्य पर्यटकीय क्षेत्र महभिर झर्ना, चखेवाभञ्ज्याङ, टेम्केडाँडा र मैयुङ डाँडा एकै प्योजकमा घुम्न सक्ने गरी संरचना निर्माण गर्ने योजना छ।’
मुन्दुम पदमार्गले पनि यहाँका धेरै पर्यटकीय क्षेत्रलाई समेटेको छ। यसको पनि थप विकासमा ध्यान दिने अध्यक्ष राई जोड दिन्छन्। महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमा राई उल्लेख गर्छन्। यहाँ आवश्यक केही पूर्वाधार निर्माण भए पनि थप संरचना निर्माण गर्ने उनको भनाइ छ।
टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भावना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने योजना रहेको उपाध्यक्ष राई चर्चा गछन्। उनी भन्छन्, ‘हाम्रो गाउँपालिका पर्यटकीय हिसाबले निकै धनी छ। यहाँ दर्जनौँ पर्यटकीय क्षेत्र छन्। तिनीहरूको नमुनायोग्य विकास गरेर गाउँपालिकालाई पूर्वको एक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य छ।’