नागरिकको जीवनस्तर सुधार्ने विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्र विकासको आधार होइन, नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने, उनीहरूको दैनिक जीवन सहज बनाउने र मुहारमा खुसी थप्ने विकास नै आजको मुख्य आवश्यकता भएको बताएका छन्।

शनिबार ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सेवा प्रवाहमा चुस्तता र सुशासन नै वास्तविक विकासको आधार बन्ने उल्लेख गरे।
उनका अनुसार “लोकतन्त्र शासन प्रणाली मात्र होइन, जनताको आवाज सुन्ने, माग बुझ्ने र तदनुसार काम गर्ने संस्कृति हो। नेतृत्वको दृढ इच्छाशक्ति र पारदर्शी शासनले मात्र नागरिकमा भरोसा जगाउन सक्छ।”

राष्ट्रपति पौडेलले जनप्रतिनिधि र राज्य संयन्त्र जनताको गुनासा बुझ्न घरदैलोमै पुग्नुपर्ने बताए। नयाँ पुस्ताले चाहेको पारदर्शी र द्रुतगतिमा हुने सेवा प्रवाहमार्फत व्यवस्थाप्रतिको भरोसा पुनःस्थापित गर्नु आजको राजनीतिक नेतृत्वको साझा दायित्व भएको उनको भनाइ थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव सफल बनाउन पनि उनले सबैलाई आह्वान गरे। संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकार र जिम्मेवारी उपयोग गर्दै नागरिकको नजिकको सरकारले त्यसअनुरूप जिम्मेवारी वहन गर्नुपर्नेमा उनले जोड दिए।

ललितपुर महानगरले सम्पदा पुनर्निर्माण, संरक्षण तथा स्मार्ट सिटीको आधारभूत पूर्वाधार निर्माणमा गरेको सक्रियता राष्ट्रपति पौडेलले सराहना गरे। स्मार्ट स्ट्रिट लाइट, साइकल लेन, इन्टेलिजेन्ट ट्राफिक लाइट, लिफ्टसहितका आकाशे पुल, जीपीएसमा आधारित घर नम्बरजस्ता योजनाले गुणस्तरीय सेवा प्रवाहमा मद्दत पुगिरहेको उनले बताए।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, विपद् व्यवस्थापन, आगलागी नियन्त्रण, सामाजिक तथा आर्थिक विकास र हरियाली प्रवर्द्धनमा ललितपुर महानगरका कामहरू प्रेरणादायी रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×