काठमाडौँ । गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँग हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ।
दुईदिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो। आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो। सोमबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियो। जात्रा सकी सोमबार राति मूर्ति तलेजु मन्दिरमा राखिएको पुजारी उद्धव कर्माचार्यले जानकारी दिए। गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ। नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ। यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिज चढाएर पूजा आराधना गरिन्छ।
गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ। गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने पुजारी जैन कर्माचार्यले बताए। मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ। गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताए। जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ। गत वर्ष कोरोना महामारीका कारण यो जात्राको विधिमात्र पूरा गरिएकामा यस वर्ष भव्यरूपमा जात्रा मनाइएको छ। तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइएको थियो। क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ। पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ। त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।
जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ। नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन्। नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन्। नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ। कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै सोमबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ। आइतबार यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो। यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ। जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन्। जात्रा सकिएसँगै सोमबार बेलुकी छ बजे गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको थियो।
जयप्रकाश मल्लको पालादेखि शुरू भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ। पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये गुह्येश्वरी जात्रा एक हो।