काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ । आइतवार भक्तपुरमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो।
वरियताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन् । उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरियताको पहिलो नम्बरमा छन् । त्यसपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे रहेका छन् ।
माओवादी केन्द्र छाडेर एमालेमा आएका थापा उपाध्यक्षको चौथो वरियतामा रहेका छन् । उनी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ भन्दा अगाडि छन् ।
३ जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरियताको पहिलो नम्बरमा छन्। ज्ञवालीपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन्।
सचिवहरुमध्ये पूर्व माओवादी नेता टोपबहादुर रायमाझी र लेखकराज भट्ट पहिलो र दोस्रोमा छन् । त्यसपछि क्रमशः रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्याल रहेका छन् ।