आर्मी प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौँ - त्रिवि क्रिकेट मैदानमा शुक्रबार दुई विभागीय आर्मी र पुलिसको क्रिकेट टिम पिएम कपको फाइनल पुग्न प्रतिस्पर्धा गरिरहेका थिए। आर्मीले टस जितेर फिल्ड रोजेपछि पुलिसले पहिले ब्याटिङको अवसर पाएको थियो।

तर पुलिसको ओपनिङ खासै राम्रो भएन। १८ रनमा सुनिल धमलालाई गुमाएको पुलिसले ५६ रनमा अमित श्रेष्ठलाई गुमाइसकेको थियो। त्यसपछि पुलिसको टिमबाट ३१ रन बनाएका कुशल भुर्तेल ६७ रन भएको अवस्थामा आउट भएका थिए। उनीहरुले क्रमशः १३, १० र ३१ रन बनाएका थिए।

तर त्यसपछि पुलिसले कीर्तिमानी प्रदर्शन गर्यो। कप्तान दिपेन्द्र सिंह ऐरीले आरिफ शेखसँग २०४ रनको साझेदारी गरेका थिए। उनीहरुले आफ्नो टिमलाई ६७ रनबाट २७१ रनमा पुर्याएका थिए। त्यसक्रममा १२५ बल खेलेका दिपेन्द्रले ११ चौका र ५ छक्काका साथ १४० रन बनाएका थिए।

उस्तै सानदार प्रदर्शन गरेका आरिफले १० बाउन्ड्री प्रहार गर्दै ९१ रन बनाएका थिए। त्यसपछि पुलिसले आर्मीलाई ३०४ रनको निकै ठूलो लक्ष्य प्रस्तुत गरेको थियो। यति ठूलो लक्ष्य दिएपछि पुलिसले जित आफ्नो पोल्टामा पारिसकेको थियो। तर आर्मीले १ बल बाँकी रहँदै ३०४ रनको लक्ष्य पूरा गरेर जित निकालेको छ।

दोस्रो पारीमा ब्याटिङ सम्हालेको आर्मीको पनि ओपनिङ राम्रो भएन। ११ रन बनाएका अर्जुन साउद २३ रनमा आउट भए भने १० रन बनाएका भीम सार्की ४६ रनमा आउट भएका थिए। त्यसपछि हरि चौहान र रोहित पौडेलले आफ्नो टिमलाई १८१ रनसम्म पुर्याएका थिए। त्यसक्रममा चौहानले ९२ बलमा नौ बाउन्ड्रीसँगै ७५ रन बनाएका थिए।

यता रोहित पौडेलले पनि ८९ रन बनाए। रोहित आउट भएपछि पनि आर्मीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सके। कप्तान विनोद भण्डारीले ३२ रन बनाए भने राजेश पुलामीले ४३ रन बनाएका थिए।

खेलमा दुवै टिमले कमजोर प्रदर्शन गरेका थिए। यद्यपि आर्मीका विक्रम शोबले ३ विकेट गिराए भने शुसन भारीले १ विकेट लिए। आर्मीविरुद्ध पुलिसका करण केसी एक्लैले ६ विकेट लिए पनि उनले १० ओभरमा ५२ रन खर्चिएका थिए।

पुलिसका राशिद खान र ललित राजवंशीले पनि समान १/१ विकेट लिएका थिए। यससँगै अब पुलिसको टिम पिएक कपबाट बाहिरिएको छ भने आर्मीले फाइनलमा स्थान बनाएको छ। साविक विजेता आर्मी यो पटक पनि फाइन पुगेको छ।

अघिल्लो वर्ष पनि एपिएफ र आर्मीले फाइनल खेलेका थिए। जहाँ आर्मीले एपिएफलाई हराएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×