काठमाडौँ - केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित ५ खेलाडी र २ अफिसरको भिसा नआउँदा नेपालमै रोकिएका छन्। नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि ५ खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन्।
सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र विवेक यादव भिसा नपाउँदा सोमबार जान पाएनन्। त्यस्तै ट्रेनर अब्दुल सतार र क्रिकेट म्यानेजर सुनिल महासेठ पनि भिसा नआउँदा केन्या जानबाट रोकिएका थिए। मंगलबार सम्म भिसा आएको छैन। नेपाल क्रिकेट संघ (क्यान) ले पुन: भिसा पठाएको छ।
‘हामीले हाम्रोतर्फबाट पुन: भिसा पठाएका छौं। भिसाको जवाफ पर्खी रहेका छौं। भिसा र टिकट केन्या एजेन्डको जिम्मामा थियो। हामीले एजेन्डलाई पनि खबर पठाएका छौं। भिसा समयमा नआएपछि टिकट पुन सार्न हामीले पठाई सकेका छौं’, क्यानका म्यानेजर विनोद दासले भने।
त्यस्सैमा थपे, ‘उनीहरुले हामीलाई पुन पठाउन भनेको थियो। ७ जनाको पठाई सक्यौं। उनीहरुले मागेको आइडी नम्बर पनि पठायौं। अव उनीहरुको हातमा छ।’
आज भिसा नआउँदा ५ खेलाडीले पहिलो खेल गुमाउने निश्चित जस्तै छ। बिहीबार पहिलो टि-२० आई खेलमा खेलमा नेपालका ११ खेलाडीमात्र उपलब्ध हुने देखिन्छ। सिरिजको मिति सार्ने वा केन्या पुगेका ११ खेलाडीको भरमा खेल्ने कुनै निर्णय भने भएको छैन। दास उताको जवाफमा भरपर्ने बताउँछन्।
‘हामीले यताबाट भिसाको कोड पठाई सकेका छौं। निकाल्ने काम उनीहरुको नै हो। हामी भोली जाने सम्भावना पनि हुनसक्छ। आज राती जाने नजाने उडानमा भरपर्छ। यदि भिसा आधा एक घण्टामा आयो भने उनीहरुले उडान पुन सार्न सक्नुपर्यो। किनभने उनीहरुले नै उडानको टिकट बुकिङ गरेको हो। हामीले सार्न पनि मिल्दैन’, दासले भने।
११ जना खेलाडी पुगि सकेको अवस्थामा खेल हुन्छ कि हुँदैन भन्ने जवाफमा दासले भने, ‘त्यो उताबाट एक पटक जवाफ आएपछि मात्र थाहा हुनेछ।’ नेपालले पहिलो टि२० आई खेल केन्यासँग बिहीबार खेल्ने कार्यक्रम छ।
केन्या पुगी सकेका ११ खेलाडी : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ र किशोर महतो।
केन्या पुग्न बाँकी पाँच खेलाडी : आदिल अन्सारी, सोमपाल कामी, बसिर अहमद, साहब आलम र विवेक यादव।
केन्या र नेपालबीचको खेल तालिका
पहिलो टि-२० आई खेल - भदौ ९ (अगष्ट २५)
दोस्रो टि-२० आई खेल - भदौ १० (अगष्ट २६)
तेस्रो टि-२० आई खेल - भदौं १२ (अगष्ट २८)
चौथो टि-२० आई खेल - भदौं १३ ( अगष्ट २९)
पाँचौं टि-२० आई खेल - भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल - भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल - भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल - भदौ २० (सप्टेम्बर ५)