काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उहाँले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए। पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभई राष्ट्र र प्रजातन्त्रका लागि असर पारेको जनाउँदै उनले ती अव्यवस्थालाई हटाउँदै सङ्गठन मजबुत बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूले प्रदेश सभापतिको जिम्मेवारी लिन लागेको स्पष्ट पारेका छन्। विसं २०४६ देखि २०६१ सम्म नेपाली कांग्रेस कास्कीको पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवं २०६२÷६३ को जनआन्दोलनमा सक्रियता रहनुका साथै जेल जीवन बिताएका थिए।
उनी २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य, २०२६ मा तरुण दल कास्कीको अध्यक्ष, पार्टीको जिल्ला सदस्य, सचिवलगायत विभिन्न पदमा रही काम गरेका छन्। उनले राष्ट्रियसभा सदस्यको जिम्मेवारी पनि सम्हालिसकेका छन्।