काठमाडौँ । मानव सेवा आश्रममा आश्रय लिइरहेका सहयोगापेक्षीलाई लक्ष्य गरी ‘भोजनका लागि भजन सन्ध्या’ अभियान थालिएको छ।
आश्रितका लागि दैनिक भोजन जुटाउन अभियान सुरु गरिएको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताइन्। देशभरका आश्रम दान र सहयोगका भरमा सञ्चालित छन्। कतिपय आश्रमलाई भोजन सेवा चलाउन नै धौधौको स्थिति छ। आश्रम, बागलुङ शाखाकी संयोजकसमेत रहेकी उनले अभियानअन्तर्गत आज शुक्रबार साँझ त्यहाँ भजन सन्ध्याको आयोजना गरिएको जानकारी दिएकी छन्। राष्ट्रिय परोपकार भजन सङ्कीर्तन समूहले प्रस्तुत गर्ने भजनमा गायक दिनेश मगरलगायत कलाकार रहेका छन्। “आश्रममा साँझबिहानको भोजन सेवा सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम राखिएको हो”, सञ्चालिका लामाले भनिन्, “आश्रम रहेका देशभरका जिल्ला र सहरमा यो अभियान पुनेछ।” अभियानका क्रममा दाताले भोजन र सेवाका लागि सहयोग गरिरहेको जनाइएको छ।
कतिले आफ्नो जन्मदिनलगायत शुभकार्यका अवसरमा भोजन सेवा गर्ने कबोल गर्ने गरेका छन्। तत्कालै नगद, खाद्यन्न र भोजन सेवामा चाहिने जिन्सी सामान सहयोग गर्ने दाताहरू पनि उत्तिकै छन्। ‘सबैका लागि नाना, खाना र छाना हाम्रो चाहना’ भन्ने उद्घोषसहित सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल बनाउने अभियानमा आश्रम क्रियाशील छ। गत महिना मात्र गण्डकीलाई सडक मानवमुक्त प्रदेश घोषणा गरिएको थियो। देशभर आश्रमका १४ शाखा छन्। बागलुङमा २०७२ मा आश्रम खुलेको हो। त्यसयता यहाँका १२० भन्दाबढी सडक मानवलाई उद्धार गरिएको आश्रमले जनाएको छ। आश्रमले बेसाहारा, अशक्त र अभिभावविहीनको उद्धार तथा संरक्षण गर्दै आएको छ। अहिले आश्रममा ४८ आश्रित छन्।
सरकारी निकाय र दाताहरुको सहयोगमा आश्रमको आफ्नै भवन निर्माणाधीन अवस्थामा छ। बागलुङ नगरपालिका–४ निरयघाटमा रु. दश करोडको लागतमा आश्रम बनाउन लागिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले बताए। आश्रम निर्माणमा सङ्घ, प्रदेश र स्थानीय सरकारको समेत लगानी रहेको छ।