काठमाडौँ - विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आंकलन गरिएको थियो। तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ।
मोरक्कोले बेल्जियमलाई २-० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो। यतिबेला समूहको शीर्ष स्थानमा ४ अंकसहित क्रोएसिया रहेको छ। समान अंक भए पनि गोलअन्तरको आधारमा मोरक्को दोस्रो स्थानमा रहेको छ। ३ अंक बटुलेको बेल्जियम तेस्रो स्थानमा रहेको छ भने अंकविहीन रहेको क्यानडा समूहको पुछारमा रहेको छ।
आजको खेलमा बेल्जियम र क्रोएसिया तथा मोरक्को र क्यानडा भिड्दैछन्। बेल्जियमलाई अर्को चरणमा पुग्नका लागि क्रोएसियालाई हराउनै पर्ने बाध्यता रहेको छ। उता क्रोएसियाले भने बेल्जियमसँग बराबरी गरे पनि अर्को चरणमा प्रवेश पाउनेछ। समूहको शीर्ष स्थानमा रहन उसले बेल्जियमलाई हराउनु पर्नेछ। उता, मोरक्कोले क्यानडालाई हराएको खण्डमा शीर्ष स्थानको फैसला गोलअन्तरले गर्नेछ।
मोरक्कोले क्यानडालाई हराए वा बराबरी गरे उसले स्वतः अर्को चरणमा स्थान बनाउनेछ। हारेको खण्डमा पनि उसको अर्को चरणमा पुग्ने सम्भावना बाँकी रहन्छ। तर, त्यसका लागि क्रोएसियाले बेल्जिमलाई रोक्नुपर्ने हुन्छ। क्यानडा भने प्रतियोगिताबाट बाहिरि सकेको छ।