काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईमा हुस्सुरकुहिरो लागेको छ ।
आज दिउँसोको मौसम देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।
राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।
आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।