म्याग्दी - म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन्।
म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन्। वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो स्थानमा पाञ्चायन देवतासहितको आकर्षक दुर्गा मन्दिर निर्माण गरिएको छ।
मन्दिरको निर्माणसँगै, रङरोगन, मन्दिरसम्म पुग्ने पक्की पदमार्ग, रेलिङ, मन्दिर परिसरमा स्लेट ढुङ्गा बिछ्याउने र मन्दिर परिसरदेखि उपल्लो फाँटसम्म जाने पक्की पदमार्ग निर्माणलगायतका भौतिक संरचना बनेपछि मन्दिरको सुन्दरता थपिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए।
उनले आर्थिक वर्ष २०७८/०८९ मा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा सांसद विकास कोषबाट प्राप्त रु चार लाख, प्रदेश सरकारकै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त रु दुई लाख र बेनी नगरपालिकाको रु एक लाख ५० हजार गरी कूल रु सात लाख ५० हजारको लागतमा सो संरचना निर्माण गरिएको मन्दिर निर्माण जानकारी दिए।
यसका लागि स्थानीयले रु एक लाखभन्दा बढीको श्रमदान समेत गरेका छन्। विसं २०३८ मा बगरफाँटवासीले स्थापना गरेको सो मन्दिरमा विगत तीन वर्षदेखि पुनर्निर्माण भइरहेको छ। अघिल्लो दुई आर्थिक वर्षहरुमा डिभिजन वन कार्यालय, बेनी नगरपालिकालगायत सङ्घ संस्थाबाट प्राप्त बजेट र स्थानीय बगरफाँटवासीले देश तथा विदेशमा सङ्कलन गरेको करिब रु १५ लाख बराबरको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण गरिएको थियो।
बगरफाँटलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि दुर्गा भगवतीको मन्दिरलाई व्यवस्थित गरिएको जनाइएको छ। करिब तीन रोपनी सार्वजनिक जग्गामा निर्माण भएको मन्दिरले बगरफाँटलाई नै सुन्दर बनाएको छ। यस मन्दिरमा असोज र चैतको अष्टमीमा बलिसहितको पूजा हुने गर्दछ भने साधारण पूजाआजाका लागि सधैँ नै खुला रहने गर्दछ।
करिब ४० वर्ष अगाडि सामान्य ढुङ्गाबाट बनाइएको मन्दिरमा अहिले मन्दिर पुनर्निर्माण र अन्य भौतिक संरचना निर्माण भएपछि दर्शन तथा पूजाआजाका लागि सहजतासँगै गाउँकै सुन्दरता बढेको स्थानीय समाजसेवी क्या मीनबहादुर कार्कीले बताए। मन्दिरको चारैतिर बत्ति राखेर झलमल बनाइएको छ। बेनी-बरङ्जा सडकको छेउबाट मन्दिर पुग्ने पक्की पदमार्ग र मन्दिरको फेददेखि नै राखिएका विभिन्न देवीदेवताको मूर्ति तथा साना मन्दिर थप आकर्षणको रुपमा रहेका छन्।
मन्दिर परिसरमा अन्य संरचनासहित व्यवस्थापनको कार्य अझै बाँकी रहेकाले चालु आर्थिक वर्षमा पनि नगरपालिकामा रकमको माग गरिएको उपभोक्ता समितिका अध्यक्ष कार्कीको भनाइ छ।