काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेञ्चाइज टिम कोलकता नाइड राइडर्सले चन्द्रकान्त पण्डितलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
कोलकताले रणजी च्याम्पियन प्रशिक्षक पण्डितलाई प्रशिक्षक नियुक्त गरेको हो। घरेलु क्रिकेटमा राम्रो सफलता हासिल गरेका चन्द्रकान्त पण्डितले जुनमा मध्य प्रदेशलाई पहिलो पटक रणजी उपाधि जिताएका थिए। त्यसअघ उनले मुम्बईबाट ३ र विदर्भबाट २ पटक रणजी जितेका छन्।
उनले अब ब्रेण्डन म्याकुलमको स्थान लिनेछन्। ब्रेन्डन म्याकुलम इंग्ल्याण्ड टेष्ट टिमको प्रशिक्षक नियुक्त भएपछि कोलकताको मुख्य प्रशिक्षक पद खाली थियो। मुख्य प्रशिक्षक नियुक्त भएपछि चन्द्रकान्त पण्डितले आफुन् लागि यो जिम्मेवारी एक सम्मान र सौभाग्यको विषय भएको बताएका छन्।
‘यो जिम्मेवारी पाउनु ठूलो सम्मान र सौभाग्य हो। मैले खेलाडी र अन्य साथीहरुबाट कोलकताको परिवारको संस्कृतिको बारेमा थाहा पाएको थिएँ,’ पण्डितले भनेका छन्, ‘म टिमको खेलाडी र सपोर्ट स्टाफको क्षमताबाट उत्साहि छु। र म सकरात्मक अपेक्षासहित यस अवसरलाई हेरिरहेको छु।’
भारतीय राष्ट्रिय टिमका पूर्व विकेटकिपर समेत रहेका पण्डितले १९८६ देखि १९९२ सम्म भारतका लागि खेले। उनले ५ टेस्ट र ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।
चन्द्रकान्त पण्डि कोलकताको पहिलो भारतीय मुख्य प्रशिक्षक समेत हुन्छ।