काठमाडौं स्पोर्ट्स इभेन्ट्सले नेपालमै पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट आयोजना गर्ने भएको छ । लिग भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता निर्देशक ज्योति भण्डारीका अनुसार लिगमा १० फ्रेन्चाइज टिम सहभागी हुनेछन् । प्रतियोगिता १० ओभरको फर्म्याटमा सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ भने शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
आयोजकका अनुसार विजेतालाई इन्डोर क्रिकेटकै सबैभन्दा ठूलो पुरस्कार राशि प्रदान गरिनेछ, जसको घोषणा केही दिनमै सार्वजनिक गर्ने बताइएको छ । टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले लिगका लागि टिम खरिद र खेलाडी अक्सनसमेत गरिने जानकारी दिए । मार्की खेलाडीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ गरी खेलाडीलाई नाम दर्ता गर्ने व्यवस्था गरिएको छ । क्याटगोरी ‘ए’ का खेलाडीका लागि १५–२५ हजार, ‘बी’ का लागि १०–१५ हजार र ‘सी’ का लागि ५–१० हजार रुपैयाँ तोकिएको छ । साथै, राष्ट्रिय खेलाडीलाई मार्की खेलाडीका रूपमा समावेश गर्नुपर्ने नियम रहेको बताइएको छ ।
लिगका लागि प्रत्येक फ्रेन्चाइज टिमलाई कुल १ लाख ५० हजार रुपैयाँ खर्च सीमा तोकिएको छ भने न्यूनतम टिम खरिद मूल्यसमेत १ लाख ५० हजार रुपैयाँ तोकिएको निर्देशक भण्डारीले बताए । लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै टी–१० फर्म्याटमार्फत इन्डोर क्रिकेटको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।