चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयदेखि प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन्। प्रेस सेन्टर नेपाल चितवन जिल्ला समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई विकास र समृद्धिमा समर्पित गर्ने बताए।
‘मंसिर ४ गतेको चुनावपछि मलाई हुन त साथीहरुले फेरि प्रधानमन्त्रीको रेसमा भन्न खोज्नुभएको छ। प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि होइन। लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा मेरो पहिलो प्राथमिकता हो। मेरो पहिलो प्राथमिकता संविधान कार्यन्वयन हो’ प्रचण्डले भने, ‘मैले चाहेको भए २०७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो। मैले होइन भन्दिए। त्यसपछि पनि थियो। अहिले चुनावपछि पनि छ। तर प्रधानमन्त्रीको रेसमा छैन।’ राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढ आर्थिक विकास र समृद्धिमा आफूलाई समर्पित गर्ने प्रचण्डले बताए।
‘अब फैसला सबै तपाईको हातमा छ। कस्तो फैसला दिनुहुन्छ? त्यो लिन तयार छु’ उनले भने, ‘चितवनको जनता बढो सचेत छन्। चितवनका जनताको फैसला अग्रगामी लोकतन्त्र र सुशासनको पक्षमा हुनेछ भन्ने विश्वास लिएको छु।’