माटाका कोठीका अभाव; किसानलाई चैतेबाली थन्क्याउन समस्या

काठमाडौँ - चैतेबाली धमाधम काटिन थालेपछि जिल्लाको भङ्गाहा नगरपालिका–४ पलार बस्तीका चौठी बाँतर बाली थन्क्याउने चिन्ताले पिरोलिएका छन्।

गहुँ, रहर, चना, मसुरोसहितका चैते बाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले उनलाई पिरलेको हो। पछिल्लो समयमा गाउँघरतिर चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायतका खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी बन्न लगभग छाडिसकेको छ। यसबाट किसानमा बाली सुरक्षित भण्डारण गर्नेबारे चिन्ता देखिएको हो। अन्नपात सुरक्षित भण्डारणका लागि विगतमा घरघरै माटाका कोठी बनाइन्थे। यसको अभावमा चाँडै घुन लाग्ने खाद्यान्न सुरक्षित भण्डारणमा समस्या भएको किसानको भनाइ छ। “प्रत्येक घर-घरमा माटाका कोठी (भकारी)मा बाली राखेपछि घुन लाग्दैनथ्यो” ८० वर्षीय बाँतरले भने, “अब पुराना कोठी फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ।”

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ। “माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर..न पोखिने चिन्ता!” भङ्गाहा–४ कै रामनगर बस्तीकी इजोतीया चौधरीले भने, “अब त घरमै आफै खान राखिने खाद्यान्न घुनबाट बचाउन पनि जानाजान विषादी मिसाउन पर्ने भयो।” चामल, चना, रहर, गहुँ र मुसुरोजस्ता चाँडै घुन लाग्ने खाद्यान्न अब माटाका कोठी बन्न छाडेपछि विषादी मिसाएर राख्नु परेको किसानको गुनासो छ। “हेर्नोस् न जानाजान विष खान तयार छौँ” उनले भने, “माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वर्षौंसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अबका छोरी, बुहारी त के हो कोठी भन्या सोध्न थाल्याछन्, खै के भनौँ!”

मिथिला क्षेत्रमा खास गरी थारु समुदायमा माटाका कोठी बनाउने कुरा कौशलको रुपमा लिने गरिन्थ्यो। माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनसँगै यो बनाउने कुरा कौशल र थारु संस्कृतिसँग जोडिदा बुहारी छनौट गर्दा कन्यार्थीले यो सीपबारे सोधपुछ गर्ने गरेका गौशाला नगरपालिकाको बिशरपुरका बासिन्दा अमरेन्द्र चौधरी थारु बताए। “हाम्रो जातिमा दुईदशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिदा तिनले माटाका कोठी बनाउन, काँस (एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् सोधिन्थ्यो”, उनले भने, “अब त ती सबै कुरा हराइ सके, अनि के कोठी देखिनु?” माटाका कोठी बन्न छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझलिएको उनको थप भनाइ छ।

कोठी बन्न छाडेपछि सघन थारु बसोबासका जिल्लाका भङ्गाहा, धर्मपुर, भीमगढ, बखरी, मेघरोल, मझौलिया, बनरा, गोरहन्ना, हरखपुर, विशरपुर, पर्सा, निगौल र रजखोरसहितका बस्तीका थारु पनि अब खाद्यान्न थन्क्याउन प्लाष्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन्। “के गर्नु बाबु, आफ्ना नौ नाडि बसी हाले” बखरी थारु बस्तीकी पारोवती राय भने, “अबका छोरी, बुहारीले यसौ सिकौ भन्ने चासो नै देखाउँदैनन्, अब केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?” पछिल्लो पुस्ताको अरुचीले अब हस्तसीपको खास नमुना मानिने कोठी बन्न छोडेको कुरामा आम थारु सहमत देखिन्छन्।

तराईमधेश क्षेत्रमा थारु महिलाकै सामिप्यताले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिक्ने गरे पनि थारु समुदायमै यो कुरा हराउन थालेपछि अन्त के खोज्नु ? भन्ने बुढापाकाको प्रतिक्रिया हुने गरेको छ। विगतमा कस्का कस्ता कोठी भनेर सामाजिक प्रदर्शन र चर्चा नै हुने गरेको कुरा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको शिक्षण पेसाबाट अवकास लिनुभएका भङ्गाहा–७ मेघरोल बस्तीका ६५ वर्षीय चन्द्रनारायण सिंह थारु बताए। प्रत्येक दिनको अलिकति फुर्सतको क्षण निकालेर महिनांै लगाएर तयार गरिने कलात्मक कोठी हेर्न बस्तीमा हल्लीखल्ली नै हुने गरको विगत सम्झँदै चेतन ठाकुरले भन्नुभयो, “अब यो कुरा नातिनातिनालाई सुनाउने कथाजस्तै भयो।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×