काठमाडौँ - पाकिस्तान सेन्सर बोर्डले ‘जोयल्यान्ड’माथिको प्रतिबन्ध केही दृश्यको छाँटकाटसहित खुला गर्ने निर्णय गरेको छ। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले ‘जोयल्यान्ड’माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको जनाएको हो।
फिल्मले विवाहित केटा र ट्रान्सजेन्डर महिलाबीचको प्रेमकथा प्रस्तुत गर्छ जुन कथाले कान्स फिल्म फेस्टिभलमा पनि अवार्ड पाएको थियो। अघिल्लो हप्ता सूचनामा सञ्चार मन्त्रालयले फिल्मको विषयलाई लिएर गुनासो आएको र फिल्म हेर्दा पाकिस्तानी समाज र यसको मूल्य मान्यतालाई हनन गर्ने कथा वाचन पाइएकाले फिल्मलाई प्रदर्शन हुनबाट रोक्ने निर्णय भएको जनाएको छ।
‘जोयल्यान्ड’ हिजो शुक्रबारदेखि पाकिस्तानमा प्रदर्शन हुने तयारीमा थियो। तर बीचैमा प्रतिबन्धमा परेपछि यसको प्रदर्शन अन्यौलमा परेको थियो।