काठमाडौँ - अभिनेता पुष्प खड्काले ३२ वर्षमा टेकेका छन्। आजै जन्मदिन परेका फिल्म निर्देशक दीपक ओलीसँग उनले सँगै केक काटेका हुन्।
यी दुईको सहकार्य रहेको फिल्म ‘कृष्णलीला’ले काठमाडौंको हात्तीसारस्थित एक रेस्टुरेन्टमा जन्मदिन समारोह आयोजना गरेका थिए। कृष्णलीलाले आयोजना गरेको यो बर्थडे जमघटमा कलाकार, सञ्चारकर्मी र शुभचिन्तकको उपस्थिति रहेको थियो। निर्देशक र अभिनेताको जन्मदिन एकैदिन परेकाले पनि यो समारोह खास बनेको थियो।
जन्मदिनको बिहानै पुष्पले शंखमूल पार्क पुगेर वृक्षारोपण समेत गरेका छन्। समी र फूलको विरुवा रोपेर उनले जन्मदिनलाई खास बनाएका हुन्। ‘मलाई ढुंगामाटो, रुखबिरुवासँग विशेष लगाव छ,’ पुष्पले भने, ‘यो सेलिब्रेसनलाई लिएर म खुसी छु।’
आजै बेलुका पशुपतिनाथ मन्दिरको आरती समारोहमा पुगेर समेत जन्मदिन मनाउने दीपक र पुष्पको योजना रहेको छ।
दर्पण छाँया २ फिल्मबाट अभिनय करिअर थालेका पुष्पले मंगलम, अझै पनि, दालभात तरकारी, मारुनीमा अभिनय गरेका छन्। कृष्णलीला भदौ ३ गते प्रदर्शन हुँदैछ भने ‘तिम्रो मेरो माया’ प्रदर्शनको तयारीमा रहेको छ।