म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ।
वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ। चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँड, रक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
“तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलोपटक सम्झाइबुझाई, दोस्रोपटक रु १०० र तेस्रोपटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौँ”, उनले भने, “जरिवानाबाट सङ्कलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाइ गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौँ।”
घरेलु हिंसा, विवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडाध्यक्ष छन्त्यालले बताए।